दफा १२
क्षतिपूर्ति सम्बन्धी व्यवस्था
(१) अदालतले यस ऐन बमोजिम मुद्दाको फैसला गर्दा बोक्सीको आरोप सम्बन्धी कसूरको प्रकृति, मात्रा, पीडितलाई पुगेको पीडा र पीडकको आर्थिक हैसियत समेतलाई विचार गरी पीडकबाट पीडितलाई मनासिब क्षतिपूर्ति भराई दिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पीडकको आर्थिक अवस्था कमजोर भएको कारण पीडकले त्यस्तो क्षतिपूर्ति उपलब्ध गराउन नसक्ने कुरा अदालतलाई लागेमा अदालतले उपयुक्त ठहयाए बमोजिमको रकम सम्बन्धित स्थानीय तहले व्यहोर्ने गरी आदेश गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम अदालतबाट भएको आदेश बमोजिमको रकम सम्बन्धित स्थानीय तहले साठी दिन भित्र पीडितलाई उपलब्ध गराउनु पर्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिमको क्षतिपूर्तिको रकम लिन नपाउँदै पीडितको मृत्यु भएमा त्यस्तो रकम निजको नावालक छोरा छोरी, त्यस्ता छोरा छोरी नभएमा पति पत्नी र निजहरु पनि नभएमा निजका आश्रित बाबु आमालाई उपलब्ध गराइनेछ ।